४.६.५ पशुपंक्षीमा लाग्ने रोग तथा किरा
कृषकहरूको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको पशुपंक्षीहरूको पालन यस उप–महानगरपालिकाको प्रमुख पेशा मध्ये एक हाे । उप–महानगरपालिकामा देखिने पशु रोगहरूमा रेबिज, खोरेत, पिपिआर, स्वाइन फिवर, भ्यागुते, चरचरे, नाम्ले, माटे, थुनेलो, प्रजनन् सम्बन्धी र जुका पर्दछन् । उप–महानगरपालिकाको वन जंगलसँग जोडिएका वडाहरूमा एन्टी रेिवज खोप लगाउनुपर्ने देखिन्छ भने खोरेत, पिपिआर, स्वाइन फिवर जस्ता अत्यन्त संक्रामक रोगको प्रकोप पनि यस उप–महानगरपालिकामा एदाकदा देखिने गरेको छ । यसका कारणहरूलाई हेर्दा पशुको अवैध आवत जावत, दयनीय व्यवस्थापन, खोप लगाउनुपर्छ भन्ने चेतनाको कमी आदि मान्न सकिन्छ । यी रोगको नियन्त्रणका लागि उप–महानगरपालिकाबाट निरन्तर प्रयास भैरहेको देखिन्छ । जिवाणुबाट हुने रोगहरू मध्ये भ्यागुत्ते, चरचरे विरूद्ध यस उप–महानगरपालिकाका किसानहरूले खोप लगाउने गरेको पाइन्छ । तापनि यी रोगहरू फाटफुट रूपमा देखिने गरेका छन् । उप–महानगरपालिकामा स्वाइन फिवर, खोरेत, रेविज विरुद्धको खोपकार्य विभिन्न वडाहरूमा सञ्चालन गर्न सकेमा धेरै हदसम्म रोग नियन्त्रण गर्न सफल हुने देखिन्छ । सामान्यतया पशुपंक्षीमा ठूलो माहामारी फैलिएको पाइँदैन् । तथापि यहाँका पशुपंक्षीहरूमा खोरेत, भ्यागुते, चरचरे, नाम्लेजुका, रेविज जस्ता रोगहरूको र पंक्षीहरूमा मुलत रानीखेत, गम्बोरा, सिआरडी र बर्डफ्लू मुख्य रूपमा लाग्ने गरेको पाइन्छ ।