तुलसीपुर

२.१ भौगोलिक अवस्थिति

नेपालमा रहेका ७ वटा प्रदेश अन्तर्गतका जिल्लाहरु मध्येको एक दाङ जिल्लामा रहेको तुलसीपुर उप–महानगरपालिकाको कुल क्षेत्रफल ३८४.६५ वर्ग कि.मि. रहेको छ । भौगोलिक हिसाबले यो उप–महानगरपालिका ८२° १२′ ०७″ देखि ८२° २५′ ५१″ पूर्वी देशान्तर र २७° ५७′ ५०″ देखि २८° १४′ ५५″ उत्तरी अक्षांश सम्म फैलिएको छ । यस उप–महानगरपालिकाका पूर्वी सिमानामा घोराही उप–महानगरपालिका, पश्चिमी सिमानामा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका, उत्तरी सिमानामा सल्यान जिल्लाका कपुरकोट तथा त्रिवेणी गाउँपालिका र दक्षिण सिमानामा लमही नगरपालिकासँग सिमाना जोडिएको छ । यहाँको अधिकांश भू–भाग समथर जमिन तथा केही पहाडी भाग अन्तर्गत पर्ने हुँदा बालुवा र पाँगो मिश्रित उर्वर माटोको प्रधानता रहेको छ । यहाँ उष्ण प्रकारको हावापानी पाइने हुँदा पौष र माघ महिनामा धेरै जाडो हुन्छ र वैशाख, जेष्ठ, असारमा गर्मी हुने गर्दछ ।