४.१.३ आयात तथा निर्यातको अवस्था
कुनै पनि उप–महानगरपालिका आर्थिक रूपले सबल हुनका लागि आयातभन्दा निर्यात बढी हुनु अनिवार्य छ । आयातभन्दा निर्यातको आयतन ठूलो हुँदा यसले व्यापार नाफा वृद्धि भई आर्थिकस्तर माथि उठ्न मद्दत गर्दछ । उप–महानगरपालिकाभित्र उत्पादन हुने उपजहरूलाई प्रवर्द्धन गरी स्थानीयस्तरमा उत्पादन हुने उपजमा आत्मनिर्भर भई निर्यात बढाउन सकेमात्र उप–महानगरपालिकाको आर्थिक हैसियत वृद्धि हुन सक्छ । उप–महानगरपालिकाबाट मकै, गहुँ, धान, तोरी, आलु, अदुवा, दुध, मह, इट्टा लगायतका कृषि उपजहरु तथा गाई, भँैसी, खसीबोका, सुंगुर, बंगुर, कुखुरा लगायतका पशुजन्य उत्पादनहरू दाङ, घोराही, नेपालगञ्ज तथा अन्य छिमेकी स्थानीय तहहरुमा निर्यात गर्ने गरिन्छ भने अतिरिक्त खाद्य सामाग्री लत्ता कपडा, नुन, तेल, जुत्ता, चप्पल, घरायसी विद्युतीय उपकरण, निर्माण सामाग्रीहरू, शिक्षण सामाग्री, रसायनिक मल, फलफूल स्वास्थ्य औषधी तथा उपकरण जस्ता वस्तुहरूको आयात हुने गरेको छ । निर्यातभन्दा आयात बढी हुनुले उप–महानगरपालिकाको व्यापार घाटा स्पष्ट अनुमान गर्न सकिन्छ । यद्यपि यकिन तथ्याङ्कका लागि भने उप–महानगरपालिकाले विशेष पहलकदमी लिन जरुरी छ ।