२.७ विकासका मुख्य सम्भावनाहरू
हरेक स्थानको आफ्नै विशेषता हुन्छ । कुनै स्थानमा जंगलको भू–भाग अत्याधिक हुन्छ । कुनै स्थानमा पर्याप्त मात्रामा जलश्रोतको उपलब्धता हुन्छ भने कुनै स्थान सुख्खा क्षेत्रको रूपमा रहेका हुन्छन् । तसर्थ कृषियोग्य क्षेत्रमा कृषिको व्यवसायिकरण गरेर माथि उठ्न सकिन्छ भने दिगो वन व्यवस्थापन मार्फत् वन क्षेत्र अत्याधिक भएको स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ । उपलब्ध श्रोत र साधनका आधारमा उप–महानगरपालिकाको सम्भावनाहरू उजागर गर्न सकिन्छ ।
दिगो वन व्यवस्थापन भन्नाले वनजंगललाई बालीनाली सरह हेरचाह र सुधार सम्भार गर्ने भन्ने बुझिन्छ । उप–महानगरपालिका क्षेत्रमा रहेका सम्भाव्यता र अवसर अन्तर्गत परम्परागत तथा आधुनिक कृषि, जडिबुटी, पर्यटन, पशुपालन तथा साना तथा मझौला उद्योगहरूको विकासका सम्भाव्यताका क्षेत्रहरू रहेका छन् । साथै उप–महानगरपालिकाको विभिन्न स्थानमा पार्क, उद्यान तथा धार्मिक सम्पदाहरूको निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्याप्त अवसर रहेको छ ।
उप–महानगरपालिकामा रहेको खेतीयोग्य जमिनमा खाद्यान्नका साथै अन्य नगदे बाली तरकारी बाली, फलफूल, दलहनबाली, मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको छ । आधुनिक कृषि प्रविधि, मल तथा औजारको अभाव हुनाको साथै सो को अधिकतम लागत मूल्यले गर्दा सो को प्रयोगमा कमी हुन गई कृषि उत्पादनमा आवश्यकता अनुसार वृद्धि हुन सकेको छैन् । जनचेतना, सीप तथा व्यवसायिकरण, आधुनीकिकरणको अभिवृद्धि, प्रविधि हस्तान्तरणको साथै आवश्यक प्रविधि, मल, कर्जा, बीउ विजनको उपलब्धतामा सरलीकरण गरेर कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि ल्याई आर्थिक स्थितिमा सुधार ल्याउन सकिने प्रशस्त सम्भावनाहरू रहेको छ ।
यहाँ रहेको उर्वर भूमिमा आधुनिक कृषि प्रणालीको अभावले गर्दा खेतीयोग्य भूमिको पूर्ण सदुपयोग हुन सकेको छैन भने अर्कोतर्फ माटोको उर्वरशक्ति क्रमश : क्षीण हुँदै उत्पादन र उत्पादकत्वमा ह्रास आएको देखिन्छ । जथाभावी हुने गरेको बस्ती विकासलाई व्यवस्थित गर्नाको साथै पुराना परम्परागत कूलोहरूको मर्मत सुधार गरी माटोको उर्वरशक्ति बढाई दिगो विकासको धारणा अनुरुप काम गर्न सकेमा भावी पुस्ताको लागि यस उप–महानगरपालिकालाई बस्न लायक ठाउँको रुपमा विकसित गर्न सकिन्छ ।
उप–महानगरपालिकाको ग्रामिण क्षेत्रमा दुग्ध उत्पादन तथा पशुपंक्षी उत्पादनको प्रशस्त सम्भावना रहेको हुँदा यो व्यवसायलाई विस्तार गर्नुको साथै यातायात सेवालाई सर्वसुलभ तरिकाले उनीहरूको पहुँचसम्म विस्तार गर्न सकेको खण्डमा विभिन्न स्थानहरूमा दुध चिस्यान केन्द्र, कृषि उत्पादनको संकलन केन्द्र/कोल्ड स्टोर, मासुजन्य उद्योग आदि विकास गर्न सकिनेछ । जसबाट रोजगार सिजर्ना गरी समग्र उप–महानगरपालिकाको आयमा वृद्धि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।
यस उप–महानगरपालिकामा भएका प्राकृतिक श्रोत र साधनलाई व्यवस्थित तथा वातावरणमैत्री प्रविधि अपनाएर उचित प्रयोग गर्न सकेमा सो क्षेत्रले कतिपय ग्रामिण इलाकाहरूका स्थानीयस्तरमा आवश्यक रोजगारी सिजर्ना गर्नुको साथै स्थानीय श्रोत परिचालनमा समेत दिगोपना ल्याउन सकिने देखिन्छ । उप–महानगरपालिका क्षेत्रमा व्यवसायिक माछापालनका लागि केही पोखरीहरु भएको र थप केही सम्भाव्य ठाउँहरूमा पोखरी तथा कृत्रिम ताल निर्माण गरी यस क्षेत्रको हावापानीमा हुने जातका माछापालन व्यवसाय गरेमा सजिलैसँग रोजगारीका अवसरहरू बढ्ने र उप–महानगरपालिकाकै माछाले बजार लिने सम्भावना रहेको छ ।
उप–महानगरपालिकाको सामुदायिक वन उपभोक्ता समूहरूलाई संगठित र संस्थागत गरी वन क्षेत्रमा गैर काष्ठजन्य उत्पादनहरू जडिबुटी खेतीको अलावा मह उत्पादनलाई पनि प्रवर्द्धन गरी बजारीकरण गर्न सकेमा सो क्षेत्रको आर्थिक उन्नति गर्न थप टेवा पुग्ने देखिन्छ ।
देशमा बेरोजगारी बढ्दै गइरहेको र सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको प्रशस्त अवसरहरू नभएकाले वैदेशिक रोजगारीमा आकर्षण बढेको देखिन्छ । यस उप–महानगरपालिकाका युवाहरूलाई सिपमूलक तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारी श्रृजना गर्ने व्यवस्था भएमा नगरको आर्थिक विकासमा ठूलो योगदान प्रुयाउन सकिने सम्भावना देखिन्छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको यस उप–महानगरपालिकामा आवश्यक स्थानहरुमा होमस्टे सञ्चालन गरी दाङ जिल्लामा भ्रमण गर्न आउने पर्यटकहरुलाई आर्कषण गर्न सकिन्छ । यसका अतिरिक्त तुलसीपुर उप–महानगरपालिकाको विकासका लागि विभिन्न सम्भावनामूलक उपायहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
- उप–महानगरपालिका क्षेत्रभित्र रहेका भूमिगत पानीको श्रोत तथा खोलाहरूबाट आधुनिक कुलो तथा नहर मार्फत् पानी सिँचाई गरी व्यवसायिक रूपमा खेती गर्न सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन सक्छ ।
- स्थानीय कच्ची सडकको स्तर वृद्धि गरी कालोपत्रे गर्न सके स्थानीय बासिन्दाले भरपुर सुविधा लिनुका साथै जीवनस्तरको स्तरोन्नति र समग्र उप–महानगरपालिकाको सुन्दरतामा वृद्धि हुन सक्छ ।
- यस क्षेत्रमा विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थानहरू रहेकाले पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
- सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरू यस क्षेत्रमा क्रियाशिल रहेकाले उप–महानगरपालिकाको विकासमा साझेदार हुन सक्ने देखिन्छ ।
- उप–महानगरपालिका क्षेत्रमा उपभोक्ताहरूको वृद्धि भइरहेको सन्दर्भमा उद्योग, व्यापार र वाणिज्यको विकास हुन सक्ने सम्भावना देखिन्छ ।